दिलीप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिकामा सामुदायिक तथा निजी विद्यालयका शिक्षक–शिक्षिकालाई लक्षित गर्दै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तथा व्यवहारिक तालिम सम्पन्न गरिएको छ । “स्वस्थ आँखा, उज्यालो भविष्य” भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रमले विद्यालय तहबाटै आँखा स्वास्थ्यमा सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
सेवा फाउन्डेशनको सहयोग तथा नेपाल नेत्र ज्योति संघअन्तर्गत गौर आँखा अस्पतालको आयोजनामा बुधवार जुद्ध माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको हो। जुद्ध मावि, श्रीमाबी, बाल निकेतन स्कुल र गौर मोडेल स्कुलको संयुक्त समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो ।
तालिममा शिक्षकहरूलाई मोतिबिन्दु, जलविन्दु, टेढो आँखा, दृष्टिदोष जस्ता समस्या पहिचान गर्ने तरिका, दृष्टि परीक्षणका आधारभूत विधि, आँखामा चोट लाग्दा गर्ने प्राथमिक उपचार, औषधि सुरक्षित राख्ने उपाय तथा उपचारमा ढिलाइ हुँदा हुन सक्ने जोखिमबारे विस्तृत जानकारी दिइयो ।
त्यसैगरी मोबाइल, कम्प्युटर लगायत डिजिटल उपकरणको अत्यधिक प्रयोगले आँखामा पार्ने असर, गर्मी मौसममा देखिने आँखा समस्या, बालबालिकाको दृष्टि कमजोरी समयमै चिन्ने उपाय तथा विद्यालयमै जनचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवहारिक विधिबारे पनि प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा गौर आँखा अस्पतालका प्रशिक्षक सत्येन्द्र पाण्डे र शिवकुमार यादवले सहजीकरण गरेका थिए । ४३ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको उक्त तालिमप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार यस्तो पहलले विद्यार्थीहरूको समयमै आँखा परीक्षण, अभिभावकमा सचेतना अभिवृद्धि तथा भविष्यमा हुन सक्ने आँखा रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गौरमा शिक्षकलाई आँखा स्वास्थ्य तालिम,विद्यार्थीको दृष्टि सुरक्षामा जोड

