दिलीप पाण्डे रौतहट । रौतहटको गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट सेवाग्राहीलाई प्रलोभनमा पारेर ठगी गर्ने प्रयास गरेको आरोपमा एक जना व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–३ मा रहेको यातायात कार्यालयभित्र सेवाग्राहीका कागजात बोकी विभिन्न शाखामा घुम्ने, छिटो काम गरिदिने भन्दै अनावश्यक झन्झट सिर्जना गर्ने तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने प्रलोभन देखाउँदै वार्तालाप गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा गौर नगरपालिका–५ दोस्तिया टोलका करिब ४० वर्षीय लक्ष्मी कुमार केशरी रहेका छन् । प्रारम्भिक अनुसन्धानमा उनले सेवाग्राहीसँग सम्पर्क गरी कागजात संकलन गर्ने, कर्मचारीसँग पहुँच रहेको दाबी गर्दै काम छिटो गराइदिने आश्वासन दिने र त्यसबापत रकम माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय सरकारी कार्यालयहरूमा बिचौलियाको सक्रियता बढ्दै जाँदा सेवाग्राही प्रत्यक्ष मारमा परिरहेका छन् । यस्ता गतिविधिले सेवा प्रवाहमा अवरोध सिर्जना गर्नुका साथै भ्रष्टाचारलाई समेत प्रोत्साहन गर्ने भएकाले निगरानी र नियन्त्रणलाई कडा बनाइएको छ । घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, यस्ता अवैध गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ ।
गौर यातायात कार्यालयमा बिचौलिया नियन्त्रणमा

