रौतहट — जिल्ला प्रशासन कार्यालय गौरले आर्थिक गणना २०८२ लाई सफल बनाउन सबै निकाय तथा नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वारा जारी सूचनामा वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनामा उद्योग, व्यापार व्यवसाय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था लगायत सबै सेवा प्रदायकलाई अनिवार्य रूपमा सहभागिता जनाउन भनिएको छ।

जिल्ला आर्थिक गणना कार्यालय रौतहटमार्फत खटिने गणनाकर्मीहरूले सम्बन्धित संस्था तथा व्यवसायबाट तथ्यांक संकलन गर्ने जनाइएको छ । यस क्रममा सबैले आफ्नो व्यवसाय र क्रियाकलापसम्बन्धी सही विवरण उपलब्ध गराई राष्ट्रिय अभियानलाई सफल बनाउन सहयोग गर्न प्रशासनले अपिल गरेको छ ।
उपलब्ध गराइने विवरण गोप्य राखिने र तथ्यांक ऐन २०७९ अनुसार सुरक्षित रहने पनि प्रशासनले स्पष्ट पारेको छ । स्थानीय तह, उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवाला निकायलाई समेत सहकार्य गर्न आग्रह गरिएको छ ।
“आर्थिक गणनामा कोही नछुटौं” भन्ने नारासहित प्रशासनले सबैलाई पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ। आवश्यक जानकारीका लागि टोल फ्री नम्बर ११६८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
