दिलिप पाण्डे रौतहट । रौतहट प्रहरीले भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मिट्ठा (गुड) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बौधीमाई नगरपालिका ७ बंकुलस्थित भित्री सडक खण्डमा चेकजाँचका क्रममा ना.६ प.८०२१ नम्बरको मोटरसाइकलमा सवार भारत, बिहार राज्य मोतिहारी जिल्ला ग्राम पञ्चायत बिजबनियाका २५ वर्षीय अर्जुनकुमार यादवलाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट तीन बोरा मिट्ठा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका सूचना अधिकारी एवं डीएसपी विष्णुप्रदीप वस्यालका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको नियमित चेकजाँचका क्रममा आवश्यक कागजात र सवारी अनुमति पत्र नभएका थप सात वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएको मिट्ठा र आठ वटा मोटरसाइकलको कुल बजार मूल्य करिब १२ लाख ८७ हजार रुपैयाँ निर्धारण गरी आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले भन्सार छली नियन्त्रणका लागि जिल्लाभर निगरानी र चेकजाँचलाई अझ कडाइ गरिएको पनि जनाएको छ ।
रौतहटमा भन्सार छलीका सामानसहित मोटरसाइकल बरामद

