रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले नक्कली सुन जस्तो देखिने धातु सहित चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–४ स्थित एक होटलमा अवैध रूपमा सुनको किनबेच भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले मंगलबार दिउँसो करिब ३:४५ बजे चेकजाँच गर्दा चार जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको शरीर तथा कोठा तलासी गर्दा “Credit Suisse 10g Fine Gold 999.9” लेखिएको प्याकेटभित्र नक्कली सुन जस्तो देखिने धातु बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, “PAMP” लेखिएको प्लास्टिक प्याकेट, विभिन्न थान धातु, मोबाइल फोन र “Antick Magnifying Binocular” लगायतका सामग्री पनि फेला परेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उक्त धातु नक्कली भएको र सुनको रूपमा देखाएर ठगी गर्ने उद्देश्य रहेको आशंका गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ पर्नेहरूमा रौतहटका साथै भारत पश्चिम बंगालका व्यक्तिहरू समेत रहेका छन्।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
नक्कली सुन कारोबारमा संलग्न ४ जना पक्राउ

