रौतहटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन ६ हजार ७३६ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम मिति माघ १ गते बिहीबारसम्म उक्त संख्या पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ ३ हजार ४६६ जना र सशस्त्र प्रहरीतर्फ ३८५ जना गरी कुल ३ हजार ८५१ जना निर्वाचन प्रहरी आवश्यक छ। तर मागभन्दा झन्डै दोब्बर आवेदन परेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप वस्यालका अनुसार नेपाल प्रहरीतर्फ ६ हजार २८४ जनाले आवेदन दिएका छन्। तीमध्ये ५ हजार ३४८ जना पुरुष र ९३६ जना महिला रहेका छन्।
सशस्त्र प्रहरीतर्फ भने ४५२ जनाले आवेदन दर्ता गराएका छन्। आवेदन दिनेमा ४२५ जना पुरुष र २७ जना महिला रहेका छन्।
आवेदन फारम जिल्ला प्रहरी कार्यालय रौतहटसहित इलाका प्रहरी कार्यालय गरुडा, चन्द्रनिगाहपुर, लक्ष्मीनिया र विजयपुरबाट संकलन गरिएको थियो।
