काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बुधबार (भोलि) पनि जारी रहने भएको छ ।
नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बैठक जारी राख्नेगरी आजका लागि सकिएको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन् । ‘आज नेताहरूले धारणा राख्ने क्रम सकिएन । त्यसैले भोलि पनि बैठक बस्नेगरी आजका लागि सकिएको छ । भोलि १ बजे बैठक पुनः बस्नेछ,’ खतिवडाले रातोपाटीसँग भनिन् ।

बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकमा खड्काले आफूहरूसँग १४औँ महाधिवेशनबाट निर्वाचित ११३ जना पदाधिकारीसहितका सदस्य रहेको बताएका थिए । आज भने ७० बढी पदाधिकारीसहितका केन्द्रीय सदस्य बैठकमा सहभागी थिए । बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक राजनीति निर्वाचनको समीक्षालगायतमा छलफल भएको नेता बद्री पाण्डेले जानकारी दिए ।
