रौतहट // रौतहट प्रहरीले आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को असई बताउँदै सर्वसाधारणलाई झुक्याएर ठगी गर्दै आएकी एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–६ घर भई हाल कबिलासी नगरपालिका–१० सलेमपुर टोल बस्दै आएकी करिब ३५ वर्षीया निर्मला महतो रहेकी छन्। उनले नेहा, निशा र पुनम कुमारी लगायतका विभिन्न नाम प्रयोग गर्ने गरेको खुलेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ती महिलाले आफू CIB मा कार्यरत प्रहरी असई भएको दाबी गर्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी नगद र सामान ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीका अनुसार उनले सर्लाही लालबन्दीका राजेश्वर साहलाई सस्तोमा स्कारपियो गाडी निकालिदिने भन्दै करिब एक वर्षअघि डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन्। गाडी महिलाको नाममा निकाल्दा कर कम लाग्ने बहाना बनाएर साहकी श्रीमतीको नागरिकता र फोटो समेत लिएको खुलेको छ। सोही कागजात प्रयोग गरी राष्ट्रिय परिचयपत्र बनाउनुका साथै बैंक खाता समेत खोलेको भेटिएको छ।
त्यस्तै, चन्द्रपुरका एक ज्वेलर्स व्यवसायीबाट उधारो सुनचाँदी लिई रकम नतिरेको, अर्का व्यक्तिसँग पाँच लाख रुपैयाँ सापटी लिएको तथा किराना पसलबाट सामान र गाडी भाडामा लिएर पनि भुक्तानी नगरेको आरोप छ। ती रकम तिर्ने भन्दै दिएको चेकमा पर्याप्त मौज्दात नरहेको पनि प्रहरीले जनाएको छ।
आरोपीलाई मिति २०८२ माघ ४ गते चन्द्रपुर नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि मात्र उनको वास्तविक परिचय खुलेको प्रहरीले जनाएको छ।
हाल उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान जारी रहेको छ।
