रौतहट । सुशासन र न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै एक पीडितले लामो समयदेखि न्याय नपाएको गुनासो सार्वजनिक गरेका छन् । एलआइसि नेपाल लिमिटेडसँग सम्बन्धित विवादमा आफू पीडित भएको दाबी गर्दै सत्येन्द्र पाण्डेले करिब १ हजार १५ दिनदेखि न्यायको प्रतीक्षामा रहेको बताएका छन् ।
पाण्डेका अनुसार उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय रौतहट, सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट, गौर नगरपालिका तथा राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न निकायमा प्रमाणसहित उजुरी दिएका छन् ।
तर लामो समय बितिसक्दा पनि कुनै ठोस प्रगति नभएको उनको भनाइ छ । कानुनी प्रावधान अनुसार उजुरी दर्ता भएको निश्चित समयभित्र अनुसन्धान र निष्कर्ष आउनुपर्ने भए पनि प्रक्रिया अलपत्र परेको उनले बताएका छन् ।
पाण्डेले आफू पहिले एलआइसि नेपालमा एजेन्सी म्यानेजरका रूपमा कार्यरत रहेको उल्लेख गर्दै कम्पनीभित्र उच्च पदाधिकारीको संलग्नतामा ठूलो आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । उनका अनुसार करोडौँ रुपैयाँ बराबरको हिनामिना भएको दाबी छ ।
सम्बन्धित निकायहरूबाट निष्पक्ष छानबिन गरी न्याय दिनुपर्ने माग गर्दै उनले सुशासन र पारदर्शिताको नारा व्यवहारमा देखिनुपर्ने बताएका छन् ।
न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

