दिलीप पाण्डे रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नियमित चेकजाँचका क्रममा करिब ४ लाख ९९ हजार रुपैयाँसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको हो ।
शुक्रबार बिहान गौर नगरपालिका वडा नं. ३ स्थित सडक खण्डमा खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्री जाँच गर्ने क्रममा गौर भन्सार कार्यालयबाट बी.पी. चोकतर्फ आउँदै गरेको बिआर ३० यू ७२४७ नम्बरको मोटरसाइकल रोकेको थियो । जाँचका क्रममा मोटरसाइकल चालक गौर नगरपालिका वडा नं. १ बस्ने ४४ वर्षीय राकेश प्रसादको साथबाट मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको नगद ४ लाख ९९ हजार फेला परेको प्रहरीले जनाएको छ ।
बरामद रकमको सम्बन्धमा आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेपछि नगद रकम, मोटरसाइकल र चालकलाई थप अनुसन्धान तथा कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।

