दिलिप पाण्डे रौतहट । राष्ट्रिय किताबखाना (निजामती) ले देशभर इपेन्सन सेवा लागू गरेसँगै रौतहटमा पनि यसको सुरुवात भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले सोमबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।
कार्यालय प्रमुख देवी प्रसाद गौतमका अनुसार मधेस प्रदेशमै पहिलोपटक रौतहटबाट इपेन्सन सेवा प्रवाह सुरु गरिएको हो ।
सेवा सुरु भएसँगै जिल्ला अदालत रौतहटका सेवानिवृत्त कर्मचारी रामलाल महतो कोइरीलाई पहिलो सेवाग्राहीका रूपमा निवृत्तिभरण अधिकारपत्र प्रदान गरिएको छ । साथै उनको संचित बिदा र औषधि उपचार खर्चसमेत भुक्तानी गरिएको कार्यालयका लेखापाल ब्रजकिशोर साहले बताएका छन ।
अबदेखि सेवा निवृत्त कर्मचारीले पेन्सनसम्बन्धी सम्पूर्ण प्रक्रिया आफ्नै जिल्लाबाट गर्न सक्नेछन् । बैंक खाता खोल्ने व्यवस्था समेत कार्यालयले नै मिलाउने कार्यालयका लेखापाल साह बताएका छन ।
यसअघि पेन्सन अधिकारपत्रका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।
इपेन्सन सेवाले सेवा प्रवाहलाई सरल, छिटो र प्रविधिमैत्री बनाउने विश्वास गरिएको छ ।
रौतहटमा इपेन्सन सेवा सुरु, मधेसमै पहिलो कार्यान्वयन

