रौतहट । रौतहटस्थित बागमती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक युवक तीन दिनपछि मृत अवस्थामा फेला परेका छन्।
सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्तीका ४० वर्षीय कामी सिंह स्याङतान चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा चैत ७ गते बिहान करिब साढे १० बजेदेखि बेपत्ता भएका थिए।

बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो। स्थानीयवासीको समेत सहयोगमा चैत ८ र ९ गते खोजी जारी राखिएको थियो।
लगातार खोजीपछि मंगलबार बिहान स्याङतानको शव बागमती नदीमै फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
