आज विश्व क्षयरोग दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। “हो हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जनचेतनामूलक र्याली, अन्तरक्रिया तथा सचेतना अभियान सञ्चालन गरिएको थियो।
दिवसको अवसरमा विद्यार्थी, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागितामा निकालिएको र्यालीले क्षयरोगबारे जनचेतना फैलाउने सन्देश दिएको छ। सहभागीहरूले प्लेकार्ड र ब्यानरमार्फत समयमै परीक्षण, नियमित औषधि सेवन तथा रोग लुकाउन नहुने सन्देश दिएका थिए।

कार्यक्रममा सरोकारवालाहरूले समुदायबाटै क्षयरोगीको पहिचान गरी उपचारमा ल्याउन सके मात्र क्षयरोग नियन्त्रण सम्भव हुने बताएका छन्। उनीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन आग्रह गरेका छन्।
सरकारले सन् २०३० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्य प्राप्तिका लागि समुदायको सक्रिय सहभागिता र जनचेतना अभिवृद्धि अपरिहार्य रहेकोमा जोड दिइएको छ।
