दिलीप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सेवामुखी नेतृत्वको उदाहरण प्रस्तुत गरेका छन् । उनले व्यक्तिगत पहलमा २ सय १४ अति विपन्न तथा समस्यामा परेका परिवारलाई चेकमार्फत कुल १५ लाख ३० हजार ४०० रुपैयाँ सहयोग प्रदान गरेका छन् । नगर प्रमुख साहले उपलब्ध गराएको सहयोग छोरीको विवाह, अति गरिब परिवारको जीविकोपार्जन, अपांगता भएका नागरिक, दीर्घरोगी बिरामी तथा दाहसंस्कार गर्न नसक्ने अवस्थाका परिवारलाई लक्षित गरिएको हो । उक्त सम्पूर्ण रकम उनले सरकारी कोषबाट नभई आफ्नो भत्ता तथा व्यक्तिगत स्रोतबाट व्यवस्थापन गरेका हुन् ।
निर्वाचनताका गरेका प्रतिबद्धता व्यवहारमा उतार्दै आएका साहले जनताको दुःखमा साथ दिनु आफ्नो पहिलो दायित्व भएको बताएका छन् । “सहयोग गर्नु मेरो कर्तव्य हो, प्रचार गर्नु होइन,” भन्ने उनको धारणा छ । यति ठूलो सहयोग चेकमार्फत पारदर्शी ढंगले वितरण गरिएकोले स्थानीय स्तरमा उनको कार्यशैलीप्रति थप विश्वास बढेको छ । लाभग्राहीहरूले कठिन परिस्थितिमा प्राप्त सहयोगले जीवनमा महत्वपूर्ण राहत मिलेको बताएका छन् ।
विश्लेषकहरूका अनुसार सेवा भन्दा प्रचारलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेका बेला यस्तो पहलले जिम्मेवार र उत्तरदायी नेतृत्वको सन्देश दिएको छ । गौरका मेयर साहको यो कदमले अन्य जनप्रतिनिधिहरूलाई पनि नागरिकप्रति उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

