रौतहट / रौतहटमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। सदरमुकाम गौरस्थित साविक करदाता सेवा कार्यालयको भवनबाट कार्यालयले औपचारिक रूपमा सेवा सुरु गरेको हो।
जिल्ला आर्थिक गणना अधिकारी सुमन्त यादवका अनुसार कार्यालयमा ८ जना सुपरिवेक्षक र ५६ जना गणकसहितको जनशक्ति परिचालन गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागमार्फत छनोट भएका यी जनशक्तिले जिल्लाको आर्थिक गतिविधिसम्बन्धी तथ्याङ्क सङ्कलन गर्नेछन्।

उनीहरूलाई चैतको तेस्रो सातामा अभिमुखीकरण तालिम दिएपछि रौतहटका १८ वटै स्थानीय तहमा खटाइने योजना रहेको छ। वैशाख २ गतेदेखि असार ७ गतेसम्म करिब दुई महिना तथ्याङ्क सङ्कलनको काम सञ्चालन हुने बताइएको छ भने कार्यालयको अवधि चैतदेखि असारसम्म चार महिना रहनेछ।
गणना अधिकारी यादवले सङ्कलित तथ्याङ्क कर प्रयोजनका लागि प्रयोग नहुने र अन्य निकायलाई पनि उपलब्ध नगराइने स्पष्ट पार्दै सर्वसाधारणलाई निर्धक्क भएर सहयोग गर्न आग्रह गर्नुभयो। आर्थिक ऐन २०७९ मा पनि यो व्यवस्था उल्लेख रहेको उहाँको भनाइ छ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सञ्चालन हुन लागेको यस अभियानमार्फत उद्योग, व्यापार, सेवा, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको सङ्ख्या, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दास, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।
