सर्लाही / नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेपछि कांग्रेस प्रवेशको क्रम तीव्र बनेको छ।
बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा बहुजन पार्टीबाट सर्लाही–४ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस सभापति गगन थापाले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

कांग्रेस प्रवेश गर्नेहरूमा गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डित रहेका छन्। उनीहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवार थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि महतो र शाह नेपाल कम्युनिष्ट पार्टी, गुप्ता जनता समाजवादी पार्टी र पण्डित नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यसैगरी बसबरिया क्षेत्रका जसपा नेता मुकेश यादव र वडासदस्य लालु मन्सुर पनि कांग्रेसमा प्रवेश गरेका छन्।
