रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार शुक्रबार एकै दिन सदरमुकाम गौरसहित सबै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिएको हो। निर्वाचन क्षेत्र नम्बर १ का लागि गौरस्थित करदाता सेवा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन क्षेत्र नम्बर २ मा परोहा नगरपालिका–लौकाहा, क्षेत्र नम्बर ३ मा कटहरिया नगरपालिकाको कार्यालय कटहरिया र क्षेत्र नम्बर ४ मा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

निर्वाचन अधिकृतहरूको जिम्मेवारीसमेत तोकिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी मनोज केसीलाई दिइएको छ। निर्वाचन क्षेत्र नम्बर २ मा सीताराम खड्का, क्षेत्र नम्बर ३ मा अवधकिशोर प्रसाद कुशवाहा र क्षेत्र नम्बर ४ मा उद्धव ढोडारी निर्वाचन अधिकृत नियुक्त भएका छन्।
मुख्य निर्वाचन अधिकृत तथा रौतहट जिल्ला अदालतका न्यायाधीश मनोज केसीले निर्वाचन आयोगले जारी गरेका नीति तथा निर्देशनअनुसार निर्वाचन प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै सरोकारवाला निकाय र सञ्चार क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।
यसअघि जिल्ला सुरक्षा समितिको टोलीले चारवटै निर्वाचन क्षेत्रका कार्यालयहरूको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्थाको मूल्यांकन गरेको थियो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन पूर्ण तयारी अवस्थामा रहेको स्पष्ट पारे।
कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुसाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, निर्वाचन अधिकृत न्यायाधीश सीताराम खड्का, नेपाल प्रहरीका डीएसपी विष्णु प्रदीप बस्याल, कर अधिकृत दिपेन्द्र झा, जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास, इन्जिनियर दिपेन्द्र यादव, हुलाक प्रमुख देवनाथ यादव, आयुर्वेद अधिकृत विनय झा, अब्दल रबसहित विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
