दिलिप पाण्डे रौतहट । रौतहटको राजपुर नगरपालिका वार्ड न .१ पिपरा भगवानपुरमा बिहीबार भएको ट्याक्टर दुर्घटनाले एक परिवार शोकमा डुबेको छ । भित्री सडकमा अनियन्त्रित बनेको ट्याक्टरले एक बालकको ज्यान लिएको हो ।
अपराह्न करिब पौने ३ बजे अमेरी मस्जिदबाट कब्रिस्तानतर्फ जाँदै गरेको ना.६ त ५४४० नम्बरको ट्याक्टर अचानक नियन्त्रण बाहिर जाँदा नजिकै खेलिरहेका ८ वर्षीय शेख सादिक चपेटामा परेका थिए ।
भारतको मोतिहारी जिल्ला घर भएका सादिक हाल राजपुरस्थित मामाघरमा बस्दै आएका थिए । स्थानीयका अनुसार उनी छिमेकी शेख वजिलको घरअगाडि खेलिरहेका बेला दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका सादिकलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइए पनि उपचार सम्भव हुन सकेन । चिकित्सकले करिब सवा ३ बजे उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ट्याक्टर चालक घटनास्थलबाट फरार भएका छन् । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर चालकको खोजी तीव्र बनाएको जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

