रौतहट । गौर गंगापिपरा सडक खण्डअन्तर्गत झाझ पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २२ वर्षीया श्रीमती पुनम देवी साह रहेका छन् ।
दुर्गा भगवती गाउँपालिका ४ स्थित झाझ पुलबाट करिब ५० मिटर उत्तरतर्फ आइतवार बिहान करिब ५:३० बजे दुई जना अचेत अवस्थामा सडक किनारमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको टोली घटनास्थल पुगेपछि प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार विआर ३० यु १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको देखिन्छ ।
दुवै जनालाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले अत्यधिक गतिका कारण घुमाउरो स्थानमा मोटरसाइकल नियन्त्रण बाहिर गई दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीको भनाइ छ ।
स्थानीय स्रोतका अनुसार दम्पती दुर्गा भगवती ३ मत्सरीस्थित आफन्तको घरमा छठियारको भोज खाएर राति घर फर्किंदै गर्दा दुर्घटनामा परेको बुझिएको छ । दुर्घटना ठ्याक्कै कुन समयमा भयो भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
झाझ पुल नजिक मोटरसाइकल दुर्घटना, श्रीमान श्रीमतीको ज्यान गयो

