रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा चिसो तथा शीतलहरबाट प्रभावित विपन्न परिवारलाई हिउँदे राहत सामग्री वितरण गरिएको छ। इस्लामिक रिलिफ वर्ल्डवाइडको आर्थिक तथा प्राविधिक सहयोग र अभियान नेपालको आयोजनामा गाउँपालिकाका विभिन्न वडाका ५३६ घरधुरीलाई राहत प्याकेज उपलब्ध गराइएको हो।
गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का लक्षित परिवारलाई प्रति परिवार ६ हजार ४ सय ६० रुपैयाँ बराबरको न्यानो सामग्री वितरण गरिएको छ। राहत प्याकेजमा उच्च गुणस्तरको फाइबर सिरक, पछ्यौरा, मोजा र फोम म्याटलगायतका सामग्री समावेश थिए।

राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले विपद्का बेला गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। वास्तविक पीडित पहिचान गरी घरदैलोमै पुगेर सामग्री वितरण गरिएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सम्बन्धित वडाध्यक्षहरूको उपस्थिति रहेको थियो। इस्लामिक रिलिफ नेपालका तर्फबाट इच्छा थापा र प्रज्ञा भण्डारी सहभागी थिए भने अभियान नेपालका प्रतिनिधि शत्रुधन सिंह, मनिष ठाकुर, जितेन्द्र कुशवाहा, आकाश सिंह र पुष्पा यादवले कार्यक्रम व्यवस्थापनमा सहयोग गरेका थिए।
तराई क्षेत्रमा शीतलहर बढ्दै जाँदा जनजीवन प्रभावित भइरहेको अवस्थामा प्राप्त यी सामग्रीले बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई चिसोबाट जोगाउन सहयोग पुग्ने स्थानीय बासिन्दाले बताएका छन्।
