काठमाडौं । संसदमा ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने भएका छन् । राप्रपाबाट प्रत्यक्षमा चुनाव जित्ने उनी एक्ला उम्मेदवार हुन् ।
राप्रपाले अघिल्लो चुनावभन्दा यसपटक कमजोर प्रदर्शन गरेको छ । २०७९ सालको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी कुल १४ सिट जितेको थियो । यसपटक प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी राप्रपा ५ स्थानमा खुम्चिएको छ ।

अघिल्लो संसदमा पाचौं ठूलो दलको हैसियतमा रहेकोमा यसपटक छैटौंमा झर्यो । लामो इतिहास बोकेको राप्रपालाई भर्खरै खुलेको श्रम संस्कृति पार्टीले उछिनेको छ ।
ज्ञानेन्द्र शाहीको जितका कारण राप्रपाको राष्ट्रिय पार्टीको हैसियत जोगियो । राष्ट्रिय पार्टीको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्ने संवैधानिक प्रावधान छ । उनले पनि हारेको भए राप्रपाको राष्ट्रिय हैसियत गुम्ने थियो । त्यसैले गर्दा पार्टीको नेतृत्वप्रति उनीप्रति कृतज्ञ बनेको छ । हिजो कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई माला र खादा लगाएर स्वागत गरेका थिए ।
शाहीले लगातार दोस्रोपटक जुम्लाबाट जितेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको देशब्यापी लहर जुम्लामा नपुग्दा उनको जित सम्भव भयो । यहाँ रास्वपाकी उम्मेदवार विनिता कठायतको जमानत जफत भएको छ ।
शाहीले अघिल्लो पटक संसदमा राप्रपाको प्रमुख सचेतकको भूमिकामा रहेर निकै प्रभावशाली भूमिका खेलेका थिए । अघिल्लो संसदको अनुभव र यसपटक प्रत्यक्ष जित्ने एक्ला उम्मेदवार भएकाले उनी निर्विवाद संसदीय दलको नेता बन्ने भएका हुन् । पार्टीको बैठकले औपचारिक निर्णय गर्न बाँकी छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि शाहीप्रति संकेत गर्दै संसदीय दलको नेता को हुने भन्नेमा द्विविधा नै नभएको प्रतिक्रिया दिए ।राप्रपाबाट समानुपातिकमा चारजना निर्वाचित भएकोमा उनीहरु सबै नयाँ हुन् । खस आर्य महिलामा नेतृ खुस्बु ओली निर्वाचित भएकी छन् ।
उनको उपस्थितिले संसदमा शाहीलाई गतिलो साथ मिल्ने अपेक्षा लिइएको छ । ओली कुशल वक्ताका रुपमा चिनिन्छिन् । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट द्वन्द्व व्यवस्थापनमा मास्टर्स गरेकी छन् । अघिल्लो चुनावमा उनी प्रत्यक्षमा उम्मेदवारी दिएर पराजित भएकी थिइन्।
यस्तै, जनजाति महिला कोटामा सरस्वती लामा समानुपातिक संसद बनेकी छन् । उनी राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी धर्मपत्नीसमेत हुन् । राप्रपामा स्थापनाकालदेखि नै सक्रिय लामा पनि पहिलोपटक संसद छिर्दैछिन् । उनी २०७४ सालमा पनि समानुपातिकको बन्दसूचीमा थिइन्, तर सांसद बन्न पाइनन् । यसपटक भने उनी बन्दसूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा रहेकाले सांसदको ढोका खुलेको छ ।
खस आर्य पुरुषमा भरत गिरी निर्वाचित भएका छन् । उनी राप्रपाको मधेस प्रदेश अध्यक्ष हुन् । महोत्तरी घर भएका गिरीले बीएसम्मको अध्ययन गरेका छन् । उनी युनिभर्सल कलेजका चेयरम्यान हुन् ।
राप्रपाले थप एक सांसद मुस्लिम क्लस्टरबाट रोजेको छ । पार्टीका पुराना नेता ताहिर अली समानुपातिक सांसद बनेका छन् । उनी राप्रपाका सहायक महामन्त्री हुन् ।
राप्रपाका प्रवक्ता श्रेष्ठ पार्टी आकारमा सानो भए पनि संसदमा प्रखर रुपमा प्रस्तुत हुने बताउँछन् । उनले भने, ‘यो निर्वाचनमा पार्टीको आकार घटे पनि हाम्रो विचार–एजेन्डा कमजोर भएको छैन । संसदमा हाम्रा पाँचैजना सांसदहरु प्रखररुपमा प्रस्तुत हुनुहुने छ ।’
