नेपाली कांग्रेस रौतहट जिल्ला समितिले पार्टीको विधानअनुसार तय भएको १५औँ नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशनलाई अस्वीकार गर्ने निर्णय गरेको छ। जिल्ला समितिले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहर तथा देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा निर्णायक भूमिका निर्वाह गर्ने जिम्मेवारी पार्टीमाथि रहेको जनाइएको छ। विज्ञप्तिअनुसार पार्टी विधानअनुसार १५औँ महाधिवेशनको मिति २०८३ वैशाख २८–३१ तोकिएको अवस्थामा नियमित प्रक्रिया अघि बढ्न नपाउँदै अवैधानिक ढंगबाट बोलाइएको विशेष महाधिवेशन वैधानिक नहुने स्पष्ट गरिएको छ। साथै, वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन आयोजना गर्नु पार्टीको हितविपरीत हुने जिल्ला समितिको ठहर छ। जिल्ला समितिले यस्तो कदमले पार्टीलाई विभाजनतर्फ उन्मुख गराउने सम्भावना रहेको भन्दै उक्त विशेष महाधिवेशनमा भाग नलिने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा आसन्न माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २९ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा केन्द्रित हुन जिल्लाका सम्पूर्ण महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न तहका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थामा आबद्ध कांग्रेसजनलाई आह्वान गरिएको छ। नेपाली कांग्रेस रौतहट जिल्ला समितिका सभापति सुनिल कुमार यादवको हस्ताक्षरसहित जारी विज्ञप्तिमा पार्टी एकता, अनुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सबै नेता–कार्यकर्तालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
रौतहटद्वारा विशेष महाधिवेशन बहिष्कार गर्ने निर्णय



