काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीका कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–७ निवासी १९ वर्षीय क्रमिक उप्रेती रहेका छन्। प्रहरीले जनाएअनुसार उप्रेतीले ‘वाइड–स्पेस इन्टरनेसनल प्रालि’ को स्थायी लेखा नम्बर (प्यान) लगायतका महत्वपूर्ण कागजातहरू अनधिकृत रूपमा प्रयोग गरेका थिए।

ती कागजात प्रयोग गरी उनले इसेवा मर्चेन्ट वालेट र व्यक्तिगत इसेवा वालेट खोली गैरकानुनी रूपमा आर्थिक कारोबार सञ्चालन गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको हो।
कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उप्रेतीले इसेवा मर्चेन्ट आईडीमार्फत ५६ लाख ३३ हजार ६ सय ३ रुपैयाँ र व्यक्तिगत इसेवा वालेटमार्फत ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ। सट्टेबाजी लगायतका प्रयोजनका लागि १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार भएको प्रहरीको ठहर छ।
प्रहरीले उप्रेतीको साथबाट एक थान ल्यापटप, दुई थान मोबाइल फोन, १६ थान एनसेल सिमकार्ड, ३ थान नमस्ते सिमकार्ड, एक थान स्मार्ट सिम, पेन ड्राइभ र मेमोरी कार्ड बरामद गरेको छ।
पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर तथा सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
