काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुकमा नक्कली (फेक) आइडी बनाएर पीडित महिलाको तस्बिर प्रयोग गरी अपमानजनक तथा अमर्यादित सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्दै आएका २३ वर्षीय तपेन्द्र विष्टलाई पक्राउ गरेको हो ।
विष्टले पीडितको नाम प्रयोग गरी विभिन्न आपत्तिजनक पोस्टहरू राख्नुका साथै अन्य व्यक्तिहरूका भिडियो सामग्रीमा समेत पीडितको नाम जोडेर चरित्र हत्या गर्ने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ। प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ स्थायी घर भएका विष्टलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

