रौतहट। रौतहटको गौर नगरपालिका–५ निवासी कुन्दन रामकी श्रीमती रिता देवी पितथैलीमा पथरीको समस्याबाट पीडित भएकी छन्। आर्थिक अवस्था कमजोर भएकी रिता देवीलाई उपचार गर्न कठिनाइ भइरहेको थियो। उनको उपचारमा सहयोग गर्न स्थानीय तहका युवा समाजसेवी र नागरिक सक्रिय भए।
यसैक्रममा इन्टरनेशनल बाल एकेडेमीका सञ्चालक सन्तोष पौडेलले व्यक्तिगत तर्फबाट २० हजार रुपैयाँ सहयोग गरेका छन्। त्यसैगरी, क्यूआर कोडमार्फत १२ हजार रुपैयाँ संकलन गरी जम्मा ३२ हजार रुपैयाँ रिता देवीलाई उपलब्ध गराइएको छ। सहयोग रकम हस्तान्तरण गर्दा उपस्थित सबैले उनको स्वास्थ्यलाभको कामना गरे।

स्थानीय युवा समाजसेवी संजिव यादव, दिनेश संगम, सोनु महतो, श्रीकान्त यादव लगायतका सक्रिय नागरिकहरू कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा सहभागीहरूले भने, “स्थानीय स्तरमा यस प्रकारको सहयोगले रोगीलाई तत्काल राहत मिल्ने मात्र होइन, समाजमा आपसी सद्भाव र सहयोगको भावना पनि बढाउनेछ।”
रिता देवीको स्वास्थ्य परीक्षण र उपचारमा सहयोगका लागि स्थानिय स्तरमा केही समययता अभियान पनि चलिरहेको थियो। स्वास्थ्य विशेषज्ञले भने, पितथैलीमा पथरी भएका बिरामीलाई समयमै उपचार गराउन आवश्यक छ, नत्र समस्या गम्भीर बन्न सक्ने खतराबारे चेतावनी दिएका छन्।
उक्त सहयोगले रिता देवीको उपचारमा तत्काल केही सहजता ल्याउने अपेक्षा गरिएको छ। यसरी स्थानीय समुदाय र समाजसेवीहरूको साझा पहलले व्यक्तिगत र सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ।
