वीरगन्ज :वीरगन्जको एक होटल (लज) मा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागू औषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेल पक्राउ परेका हुन् ।
वीरगन्ज ८ लिंकरोडमा रहेको समर होटल एण्ड लजमा लागु औषध ओसार पसार गर्ने संकास्पद व्यक्ति बसेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि खटिएको प्रहरी टोलीले उक्त लजको १०५ नम्बर कोठामा पुगेर खानतलासी गर्दा त्यहाँ रहेका पटेलको साथबाट प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट ३० हजार पिस ( ३ हजार पत्ता ) बरामद भएको हो ।

लागुू औषधसहित पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
