रौतहटको गौर क्षेत्रमा सरकारी कार्यालय वरिपरि सक्रिय बिचौलियामाथि प्रहरीले कडा निगरानी र कारबाही थालेको छ। सेवाग्राहीलाई अनावश्यक झन्झट दिँदै आर्थिक लाभ लिने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे गौर नगरपालिका–४ बसपार्क, वडा नं. ३ स्थित जिल्ला अदालत र वडा नं. ५ स्थित मालपोत कार्यालय आसपासका क्षेत्रमा निगरानी गरिएको थियो। सो क्रममा “छिटो काम गराइदिन्छु” भन्दै सेवाग्राहीलाई हैरानी दिने, कागजात बोकेर विभिन्न शाखामा दौडधुप गर्ने र त्यसबापत रकम असुल्ने व्यक्तिहरूलाई विशेष टोलीले पक्राउ गरेको हो।

नियन्त्रणमा पर्नेहरूमा यमुनामाई गाउँपालिका–२ का २८ वर्षीय सिकित नारायण, राजदेवी नगरपालिका–७ का २४ वर्षीय बब्लुप्रसाद यादव, सोही स्थानका ३० वर्षीय श्याम बिहारी यादव, परोहा नगरपालिका–७ का ३९ वर्षीय रामनरेश प्रसाद पटेल र गौर नगरपालिका–८ का ६० वर्षीय राजेन्द्र राउत रहेका छन्।
निमित्त सूचना अधिकारी एवं डिएसपी जीवनकुमार मैनालीका अनुसार उनीहरूले लामो समयदेखि सेवाग्राहीलाई दुःख दिँदै अनुचित लाभ लिने काम गर्दै आएका थिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको यो कदमपछि सरकारी कार्यालय वरिपरि फैलिएको बिचौलिया गतिविधि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ। स्थानीयवासीले समेत यस्तो अभियानको स्वागत गरेका छन्।
