धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलाली जिल्लाको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाट सोमबार नियन्त्रणमा लिएको हो।

मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी मुद्दामा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यसबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक (डीएसपी)योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान जारी रहेको बताए।
मुख्यमन्त्रीमाथि लगाएको आरोपका विषयमा मन्त्रालयले मागेको स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
