दिलीप पाण्डे रौतहट — अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले रौतहट जिल्ला अदालत गौरमा छापा मार्दै घुस लिँदै गरेका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
आयोगका अनुसार अदालतका डिट्ठा लभकुमार सिंहलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात नियन्त्रणमा लिइएको हो । मुद्दा मिलाइदिने वा सहजीकरण गरिदिने बहानामा घुस मागिएको उजुरी परेपछि आयोगले विशेष निगरानी गरेको थियो ।

सोही क्रममा डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गौरस्थित जिल्ला अदालत परिसरमै उनलाई रकमसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। अदालतभित्रै भएको यस घटनाले न्यायिक प्रणालीको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
