कमलामाई (सिन्धुली)। घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाट घटनामा मुख्य योजनाकारसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंक रहेको घरका धनी छविलाल स्याङ्तानसमेत रहेका छन्।
गत पुस २९ गते राति बैंक लुटपाट भएको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घरधनी स्याङ्तानकै योजनामा लुटपाट भएको अनुसन्धानबाट पुष्टि भएको हो।

प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेको बनेपा नगरपालिका–१० का ४९ वर्षीय सवारी चालक भागवतसिंह थापा, घ्याङ्लेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय सशांश श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, घ्याङ्लेख–२ कै ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक छन्।
पक्राउ परेकाहरूलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार बैंक लुटपाटमा तीन जना मुख्य योजनाकार रहेका छन्। घरधनी स्याङ्तान र उनका जेठान चतुरमान बज्युलाई पक्राउ गरिसकिएको छ भने एक जना अभियुक्त फरार छन्।
प्रहरीले बैंकबाट लुटिएको दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगद बरामद गरेको छ। घटनामा प्रयोग गरिएको पेस्तोल नक्कली रहेको अनुसन्धानबाट खुलेको छ। लुटपाटका क्रममा सुरक्षा गार्ड र कर्मचारीलाई नक्कली प्लास्टिकको पेस्तोल र खुकुरी देखाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लुटपाटमा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लास्टिकको पेस्तोल, पाँच थान मोबाइल, ठूलो पानी टेप, विभिन्न रङका नकाव र कालो पञ्जासमेत बरामद गरिएको छ।
प्रहरीका अनुसार घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गर्नुका साथै सूचना आदान–प्रदानमा सहयोग गरेका थिए। स्याङ्तान, उनका जेठान बज्यु र फरार अभियुक्तले २०८२ असोजदेखि नै बैंक लुट्ने योजना बनाएको र पटक–पटक प्रयास गरेको पाइएको छ।
पहिलो पटक पुस २३ गते लुटपाटको योजना भए पनि परिस्थिति अनुकूल नभएपछि फर्किएको र दोस्रो प्रयासमा पुस २९ गते बैंक लुटिएको प्रहरीको भनाइ छ। लुटेराहरू काठमाडौँ, बनेपा हुँदै टाटा सुमो रिजर्भ गरी घ्याङ्लेख पुगेका थिए।
घटनापछि प्रहरी र स्थानीयको सक्रियतामा अभियुक्त पक्राउ गर्न र नगद तथा प्रमाण बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान जारी छ। प्रहरीका अनुसार बैंकबाट करिब तीन करोड सात लाख रुपैयाँ लुटपाट भएको थियो।
