दिलीप पाण्डे रौतहट । रौतहटको परोहा नगरपालिका वार्ड न. ५ भेडियाहीकी कान्ति देवी महतोले छोरीको हत्या भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि न्याय नपाएको गुनासो गरेकी छन् ।
उनकी छोरी उर्मिला कुमारी महतो २०८१ चैत ३१ गते घरमै मृत अवस्थामा फेला परेकी थिइन् । परिवारले यसलाई आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएको छ । पीडित पक्षका अनुसार सामान्य आर्थिक विवादपछि घटना भएको हो र छोरीलाई कुटपिट गरी झुण्ड्याइएको आरोप लगाइएको छ । तर आरोपितहरू अझै पक्राउ नपरेको उनीहरूको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता नभएको भन्दै पीडित परिवारले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा मुद्दा दायर गरेको थियो । अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । तर आदेश आएको महिनौं बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै परिवारले असन्तुष्टि जनाएको छ । आरोपितहरू गाउँमै खुलेआम हिँडिरहेको र आफूहरूलाई धम्कीसमेत आइरहेको पीडितको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले भने मुद्दा दर्ता भइसकेको र अनुसन्धान जारी रहेको जनाएको छ ।
छोरीको हत्या आरोपमा न्याय नपाएको भन्दै परिवारको गुनासो

