दिलीप पाण्डे रौतहट । महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले रौतहट जिल्लामा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने यो अभियान दुई चरणमा लागू गरिने भएको छ ।
स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा क्यान्सरको जोखिम, रोकथामका उपाय र खोपको प्रभावकारिताबारे जानकारी गराइएको थियो । विश्व स्वास्थ्य संगठनका डा. सुरेश सुक्लाले पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएको उल्लेख गर्दै किशोरीवस्थामै एचपिभी खोप लगाएमा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने बताएका थिए ।
स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहका अनुसार अभियानमार्फत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप दिइनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका किशोरीलाई समेत समेटेर खोप सेवा प्रदान गरिने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, अभिभावक र सञ्चार माध्यमको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले लक्षित समूहका सबै किशोरीसम्म खोप सेवा पु¥याउन समन्वयलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभयो । पहिलो चरणको खोप सेवा माघ २५ गतेदेखि फतुवा विजयपुर, बौधिमाई, मौलापुर, गढिमाई, ईशनाथ, परोहा, देवाही गोनाही र राजपुर नगरपालिकामा सञ्चालन हुनेछ । दोस्रो चरण फाल्गुन १ गतेदेखि चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, माधव नारायण, गौर, कटहरिया, राजदेवी नगरपालिका तथा यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा उपलब्ध गराइने छ । स्वास्थ्य कार्यालयले लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन अभिभावकलाई आग्रह समेत गरेको छ ।

