दिलीप पाण्डे रौतहट । नेपाल विद्युत प्राधिकरण अन्तर्गत गौर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण र बक्यौता असुली अभियानलाई तीव्र बनाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विशेष अभियानमार्फत लाखौंदेखि करोडौंसम्म राजस्व संकलन गर्न सफल भएको जनाएको छ । गौर वितरण केन्द्रका सहायक प्रबन्धक धीरेन्द्र कुमार यादवका अनुसार हालसम्म १२० वटा विद्युत चुहावटका घटनामा कारबाही गरिएको छ । ती घटनाबाट मात्र १५ लाख ७६ हजार १२४ रुपैयाँ राजस्व संकलन गरिएको उनले जानकारी दिए । विद्युत चोरी नियन्त्रणका लागि गरिएको अनुगमन, छापा तथा प्राविधिक परीक्षणका क्रममा अवैध रूपमा विद्युत उपभोग गर्नेहरूलाई कारबाही गरिएको हो ।
लामो समयदेखि बक्यौता नतिर्ने उपभोक्तामाथि पनि कडाइ गरेको छ । ब्लक लिस्टमा राखिएका ग्राहकहरु मध्य जम्म्मा ६० जना उपभोक्ताबाट मात्रै २४ लाख ४९ हजार ६३५ रुपैयाँ ९२ पैसा बक्यौता असुल उपर गरेको छ । प्राधिकरणले ती उपभोक्तालाई समयमै रकम भुक्तानी गर्न आग्रह गर्दै अन्यथा थप कारबाही गरिने चेतावनी दिएको छ ।
बक्यौता असुली अभियानअन्तर्गत गौर वितरण केन्द्रले कुल २,०२८ उपभोक्ताको विद्युत लाइन काटेको थियो । ती उपभोक्ताबाट करिब ९ करोड ४४ लाख ६२ हजार ११२ रुपैयाँ बराबरको बक्यौता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । प्राधिकरणले लाइन काट्ने कडा नीति अपनाएपछि अधिकांश उपभोक्ताले बक्यौता तिर्न थालेका छन् ।
लाइन काटिएका उपभोक्तामध्ये हालसम्म १,७९२ जनाले बक्यौता चुक्ता गरी पुनः विद्युत जडान गराएका छन् । यसबाट मात्रै ५ करोड ४३ लाख ७० हजार ४१४ रुपैयाँ ७१ पैसा राजस्व संकलन भएको सहायक प्रबन्धक यादवले बताए । यसले बक्यौता असुली अभियान प्रभावकारी बनेको संकेत गरेको छ । यस्तै पुनः जडान गर्दा लाग्ने रु ८४७.५० दस्तुरबाट मात्र १४ लाख ८६ हजार ७०७ रुपैयाँ ८९ पैसा थप राजस्व संकलन भएको छ । प्राधिकरणका अनुसार यो रकम पनि केन्द्रको आम्दानीको महत्वपूर्ण हिस्सा बनेको छ ।
गौर वितरण केन्द्रले चुहावट नियन्त्रण, नियमित अनुगमन, तथा बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ सशक्त अभियान सञ्चालन गर्ने जनाएको छ । विद्युत सेवा दुरुपयोग गर्ने तथा समयमै बिल नतिर्ने उपभोक्तामाथि कडाइ गरिने र कानुनी दायरामा ल्याइने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
गौर वितरण केन्द्रद्वारा करोडौं राजस्व संकलन

