रौतहट । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रमा डेढ वर्षअघि त्रिशूली नदीमा खसेको दुई बसमध्ये एक ‘गणपति डिलक्स’ बस फेला परेको छ।
आइतबार बिहान नदी किनारमा बसको केही भाग देखिएपछि सुरु गरिएको उत्खनन कार्यका क्रममा मंगलबार उक्त बस गणपति डिलक्स नै भएको पुष्टि भएको सशस्त्र प्रहरी बलले जनाएको छ। तीन दिनदेखि निरन्तर गरिएको खोजी तथा उत्खननमा बसमा लेखिएको ‘गणपति डिलक्स’ स्पष्ट देखिएको सशस्त्र प्रहरी हवल्दार ललित बहादुर काम्चाले जानकारी दिए। उनका अनुसार अझै उत्खनन कार्य जारी छ।
२०८१ असार २८ गते बिहान काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि करिब २२ किलोमिटर पूर्व सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा खसेका थिए।
दुर्घटनाका बेला दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसमा रहेका तीन जना यात्रु पौडेर बाहिर निस्कन सफल भएका थिए। बाँकी यात्रु बससँगै बग्दा केहीको मात्रै शव फेला परेको थियो।
बस र बेपत्ता यात्रुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोरसहित करिब पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। खोजीमा वाटर ड्रोन (सोनार) प्रविधि प्रयोग गरिनुका साथै भारतबाट समेत उच्च प्रविधिसहितका गोताखोर ल्याइएका थिए। यति ठूलो प्रयासका बाबजुद बस अहिलेसम्म फेला पर्न सकेको थिएन।
डेढ वर्षपछि गणपति डिलक्स बस फेला परेपछि घटनाबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ।

