दिलीप पाण्डे रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका नेता ब्रजकिशोर सिंहले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । २०४८ र २०५१ सालमा सांसद बनेका सिंहले २०५४ सालमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
सिंहले देशको वर्तमान राजनीतिक तथा प्रशासनिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै पार्टी छोड्ने निर्णय गरेको बताएका छन् । उनले अहिलेको राजनीतिक र प्रशासनिक परिस्थितिमा व्यापक भ्रष्टाचार मौलाएको आरोप लगाउँदै यस्तो अवस्थामा आफू पहिलेझै मौन बस्न नसक्ने स्पष्ट पारेका छन् ।
प्रशासनिक संयन्त्र नै भ्रष्टाचारमा डुबेको अवस्थामा राजनीतिक दलभित्र रहेर सुधार सम्भव नरहेको उनको भनाइ छ । नेपाली कांग्रेससँग आफ्नो लामो राजनीतिक पहिचान जोडिएको भए पनि वर्तमान अवस्था र कार्यशैलीप्रति असहमति जनाउँदै यथार्थ तथ्यका आधारमा आवाज उठाउन बाध्य भएको उनले बताएका छन् । देश र जनताको पक्षमा बोल्नु नै आजको आवश्यकता हो सिंहको भनाइ रहेका छन ।

