काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा गएराति भएको फाइनलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–२ गोलले पराजित गरेको हो।
बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे। उनले ३६ औं र ७३ औं मिनेटमा गोल गरेका थिए। थप एक गोल पहिलो हाफको अतिरिक्त समयमा रोबर्ट लेवान्डोस्कीले गरे।

रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक–एक गोल फर्काए पनि टोली हारबाट जोगिन सकेन।
खेलको अन्तिम समय बार्सिलोनाका लागि चुनौतीपूर्ण बनेको थियो। फ्रेन्की डे योङले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो। तर दोस्रो हाफमा रियलले थप गोल गर्न नसक्दा बार्सिलोनाले उपाधि सुरक्षित गर्न सफल भयो।
यस जितसँगै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। गत वर्ष पनि यही मैदानमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोलले हराएको थियो।
