रौतहट / रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले चिसोका कारण प्रभावित गरिब, असहाय, वृद्धवृद्धा तथा सर्वसाधारणलाई राहत दिन दाउरा वितरण कार्यलाई निरन्तरता दिनुभएको छ।
केही दिनअघि सुरु गरिएको यस अभियानअन्तर्गत बिहीबार तेस्रो दिन नगरप्रमुख जयसवालले गरुडा नगरपालिका–६ पोठियाही र वडा नम्बर–२ गेडही गुठीमा दाउरा वितरण गर्नुभयो।

अत्यधिक चिसोले दैनिक जनजीवन प्रभावित भइरहेका बेला नगरपालिकाले राहतका रूपमा दाउरा वितरणलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरप्रमुख स्वयं उपस्थित भई पोठियाही र गेडही गुठीका सार्वजनिक स्थल, चोक–चौराहा र बजार क्षेत्रलगायत विभिन्न स्थानमा आगो ताप्न मिल्ने गरी दाउरा व्यवस्थापन गर्नुभयो।
दाउरा पाएपछि स्थानीयवासीले चिसोबाट केही हदसम्म राहत मिलेको प्रतिक्रिया दिएका छन्। नगरप्रमुख जयसवालले चिसोको प्रभाव रहुञ्जेलसम्म नगरपालिकाको तर्फबाट दाउरा वितरण तथा आवश्यक सहयोग कार्य निरन्तर जारी रहने स्पष्ट पार्नुभयो।
