मुम्बई । चर्चित वेब सिरिज ‘मिर्जापुर’ मा आधारित फिल्म ‘मिर्जापुर: द फिल्म’ मा अभिनेत्री श्रिया पिलगाउँकरको पुनरागमन निश्चित भएको छ। उनले सिरिजको पहिलो सिजनमा निभाएको ‘स्वीटी गुप्ता’ को भूमिकामार्फत फेरि दर्शकमाझ देखिन लागेकी हुन्।
श्रिया पिलगाउँकरले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको सुटिङ सुरु गरेको जानकारी दिएकी छन्। उनले सेयर गरेका दुई तस्बिरमध्ये एउटा तस्बिरमा फिल्मको क्ल्यापबोर्ड देखिन्छ भने अर्को तस्बिरमा उनी अली फजल, श्वेता त्रिपाठी, दिव्येन्दु शर्मा, पंकज त्रिपाठी र रसिका दुग्गलसहित देखिएकी छन्।

पोस्टको क्याप्सनमा श्रियाले आठ वर्षपछि ‘मृत्युको मुखबाट फर्किएको’ उल्लेख गर्दै प्रशंसकलाई चकित पारेकी छन्। ‘मिर्जापुर’ को पहिलो सिजनमा स्वीटी गुप्ताको हत्या भएको देखाइएको थियो। तर फिल्ममा उनी सोही भूमिकामा पुनः देखिन लागेकी हुन्, जसले कथालाई थप रोचक बनाउने संकेत गरेको छ।
फिल्ममा पंकज त्रिपाठी (कालीन भैया), अली फजल (गुड्डु पण्डित), दिव्येन्दु शर्मा (मुन्ना त्रिपाठी), अभिषेक बनर्जी र जितेन्द्र कुमारलगायत कलाकारको अभिनय रहनेछ।
गुरमित सिंहको निर्देशनमा बन्ने यस फिल्मको कथा पुनीत कृष्णाले लेखेका हुन्। एक्सेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्म सन् २०२६ भित्रै सिनेमाघरमा रिलिज हुने तयारीमा छ। हलमा प्रदर्शन भएको करिब आठ हप्तापछि मात्रै यो फिल्म प्राइम भिडियोमा उपलब्ध हुनेछ।
सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएको फिल्मको सुटिङ हाल तीव्र गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ।
